Thursday 22 April 2010

सभासदले संसदमा ताला लगाएर प्रचण्डलाई थुन्न नपरोस्

'सभामुखज्यू, यो लोगो लगाएर हिँड्न नहुने भयो । हामीलाई जनताले अब सडकमा जुत्ताले स्वागत गर्न लागे,' सभासद बुद्घरत्न मानन्धरले बिहीबार संसदको बैठकमा यसरी आफ्नो पीडा पोखे ।
ठूला दलका नेताप्रति संकेत गर्दै उनले लगत्तै थपे, 'तपाईंहरू त गाडीमा हिँड्नुहुन्छ कसले के गर्न सक्छ, हामी त ११ नम्बरे परियो, सडकमा हिँड्नुपर्छ जनताको जुत्ताको स्वागत पाइएलाजस्तो भएको छ ।' ठूला दलका कार्यशैलीका कारण संविधान समयमा बन्न नसकेको दोष आफूहरूमा पनि आउन लागेकोमा उनी चिन्तित थिए ।
नेपा पार्टीका एक्ला सभासद मानन्धरमात्र होइन अन्य दलका सभासद पनि यस्तै चिन्तामा छन् । अनौपचारिक रूपमा यस्तै चिन्ता गर्ने उनीहरूले बिहीबार भने संसदको बैठकमै आफूहरूप्रति जनताबाट आउने आक्रोशको खतराबारे मुख खोले ।
'अब सभासदहरू भनेर हिँड्न नहुने भइसक्यो,' मधेसी जनअधिकार फोरमका सभासद अकवाल अहमद साहले भने, 'जनताले सबै सभासदलाई टुँडिखेलमा उभ्याएर गोली हान्नुपर्छ भन्न थालेका छन् ।'
तीन दलका नेताका कारण उत्पन्न परिस्थितिले आफूहरूले समेत बदनामी खेप्नुपरेको उनको गुनासो थियो । 'ठूला तीन दलका नेताको सत्ताको झगडाले हाम्रो समेत सार्वजनिक रूपमा चरित्रहत्या हुन थालिसक्यो,' उनले भने, 'यो सरकार रहुन्जेल शान्ति र संविधान टुंगोमा पुग्दैन, तत्काल सहमति बन्नुपर्छ ।'
सहमति गछौं  भन्दै नेताहरूले समय पर सार्दै लगेकोमा उनीहरूको आक्रोश थियो । संविधान जारी गर्ने समय एक महिना मात्र बाँकी हुँदा पनि राजनीतिक सहमति छोडेर सत्ताको विषयमा मात्र उठाएकोमा उनीहरूले असन्तुष्टि जनाए ।
'संविधान नबनेको दोष हामी सबैलाई जान्छ,' राष्ट्रिय जनशक्ति पार्टीका अर्जुन राईले भने, 'तर तीन ठूला दलले संविधानसभालाई बन्दी बनाएका छन्, हामीले काम गर्न पाएका छैनौं ।'
अझ सत्तारूढ कांग्रेसकी ललिता किङरिङ त निकै कडा रूपमा प्रस्तुत भइन् । उनले आफ्ना दलका नेताको नाम त लिइनन्, तर माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भने संसदभित्र थुन्ने चेतावनी दिइन् । 'हामी सभासदले काम नगरेको त होइन,' उनले भनिन्, 'ठूलो पार्टीले संविधान बन्न दिएको छैन, यस्तै हो भने हामी सभासदले संसदमा ताला लगाएर प्रचण्डलाई थुन्न नपरोस् ।'
ठूला दलका सभासदबीच सत्ताको विषय र एकअर्कामा आरोप-प्रत्यारोप गरिरहँदा साना दलका सभासदको भने उनीहरूका क्रियाकलापप्रति गुनासो हुुनेगर्छ । संसद्मा नियमित जनचासोको मुद्दाभन्दा अन्य विषय धेरै उठ्छन् । माओवादीका अधिकांश सभासद 'कठपतली' सरकार भन्दै त्यसको उछित्तो काढ्छन् । सत्तारूढ दुई दलका सभासद भने माओवादीमाथि खनिन्छन् ।

पैसा कमाउन बिदेश जानु पर्दै न आफ्नो प्रकृतिका स्रोत र सदन को उप्योग गरे पैसा मनग्य कमाउन सकिन्छ भने उदहारन निजगढ–३ का सुदर्शन लामिछानेले

सशस्त्र द्वन्द्वका कारण व्यवसायवाट विस्थापित  निजगढका एक किसान शान्ति प्रक्रिया थालनीसँगै सुरु गरेको नयाँ व्यवसायबाट स्थापित भएका छन्। २०६१ सालमा   खोलेको खाँडसारी  उद्योगबाट 'लगभग टाँट' पल्टेका निजगढ–३ का सुदर्शन लामिछानेले शान्ति प्रक्रियाको थालनीसँगै सुरु गरेका बङ्गुर व्यवसायबाट  मनग्ये आम्दानी गर्दैछन्।


उतिबेला सरकार–माओवादी द्वन्द्वका कारण खाँडसारी व्यवसाय चौपट भयो', उनले भने– तीन वर्षअघिबाट सुरु गरेको बङ्गुरपालनले अहिले राम्रो आम्दानी दिँदैछ। खाडसारी व्यवसायबाट झण्डै  २० लाख बराबरको सम्पत्ति गुमाएका उनले छिटो अवधिमा फड्को मारेका छन्।

थुप्रै  ऋण लागेको थियो', उनले भने – के गर्ने के नगर्ने भनेर एक वर्ष केही सोच्न सकिन। सुरुमा दुई वटा बङ्गुरबाट सुरु गरेको उनको व्यवसाय अहिले फैलिएको छ। बङ्गुरसँगै उनले माछा, कखुरा पालन  र केरा खेतीसमेत सुरु गरेका छन्।

चारवटा माछा पोखरीको डिलमा १ सय वटा बङ्गुर पाल्न मिल्ने खोर बनाएको र त्यसैको दानाले कुखुरा  र  पोखरीको माछालाई आहारा हुने गरेको उनले बताए। १० कट्ठा जमिनमा रहेका  बङ्गुर, माछा र केराबाट उनले वार्षिक  ४ लाखको हाराहारीमा  आम्दानी गर्ने गरेको सुनाए।

बङ्गुरको  फोहोर  माछा पोखरी र केराको फेदमा जान्छ ', उनले आफ्नो बहुआयामिक व्यावासायिक चक्रबारे सुनाए – केराको पात माछाले खान्छ।  यी सबै एक  आपसमा मिल्ने भएकाले व्यवसाय सप्रेको उनले सुनाए। 'चारैतिरबाट उत्पादन बढदैछ  ', उनले थपे –  बङ्गुर , माछा , कुखुरा  र केराले मेरो उद्दार गर्‍यो।

टेलिभिजनबाट प्रशारित हुने कृषि कार्यक्रम हेरेर बङ्गुरपालनतर्फ आकर्षित भएका उनी आफ्नो कार्यलाई पत्नी शकुन्तलाले सघाउने गरको बताउँछन्। उनी विद्यालय पढाएर आएपछि  काममा लाग्छिन् ', उनल भने – हाम्रो मेहनतले आम्दानी बढ्दैछ।

ब्राह्मण समुदायको भएर पनि बङ्गुर पालेको भनेर सुरुमा केहीले कुरा काटे पनि अहिले समाजले राम्रो रुपमा हेर्न थालेको उनले बताए।  उनीहरुको सफलता देखेर यसै गाउँमा मात्र अन्य १० परिवारले बङ्गुर पालन सुरु गरेको निजगढका गुरु गौतमले सुनाए।

असफलतापछि सफलताको बाटो हिँड्दै गरेका लामिछाने दम्पती अहिले निक्कै खुसी देखिएका छन्। उनीहरुले आफ्ना दुई छोरीलाई निजी विद्यालयमा पढाउँदै छन्। नयाँ घर बनाएका छन्। जीवन शैलीमा परिवर्तन आएको छ। तर उनलाई पुन: पुरानो भयले सताउन भने छाडेको छैन। 'फेरि द्वन्द्वको डर बढ्दैछ', विगतबाट त्रसित उनले भने–  त्यसो नहोस् भनेर प्रार्थना गर्दैछौं।

Followers