Thursday 22 April 2010

पैसा कमाउन बिदेश जानु पर्दै न आफ्नो प्रकृतिका स्रोत र सदन को उप्योग गरे पैसा मनग्य कमाउन सकिन्छ भने उदहारन निजगढ–३ का सुदर्शन लामिछानेले

सशस्त्र द्वन्द्वका कारण व्यवसायवाट विस्थापित  निजगढका एक किसान शान्ति प्रक्रिया थालनीसँगै सुरु गरेको नयाँ व्यवसायबाट स्थापित भएका छन्। २०६१ सालमा   खोलेको खाँडसारी  उद्योगबाट 'लगभग टाँट' पल्टेका निजगढ–३ का सुदर्शन लामिछानेले शान्ति प्रक्रियाको थालनीसँगै सुरु गरेका बङ्गुर व्यवसायबाट  मनग्ये आम्दानी गर्दैछन्।


उतिबेला सरकार–माओवादी द्वन्द्वका कारण खाँडसारी व्यवसाय चौपट भयो', उनले भने– तीन वर्षअघिबाट सुरु गरेको बङ्गुरपालनले अहिले राम्रो आम्दानी दिँदैछ। खाडसारी व्यवसायबाट झण्डै  २० लाख बराबरको सम्पत्ति गुमाएका उनले छिटो अवधिमा फड्को मारेका छन्।

थुप्रै  ऋण लागेको थियो', उनले भने – के गर्ने के नगर्ने भनेर एक वर्ष केही सोच्न सकिन। सुरुमा दुई वटा बङ्गुरबाट सुरु गरेको उनको व्यवसाय अहिले फैलिएको छ। बङ्गुरसँगै उनले माछा, कखुरा पालन  र केरा खेतीसमेत सुरु गरेका छन्।

चारवटा माछा पोखरीको डिलमा १ सय वटा बङ्गुर पाल्न मिल्ने खोर बनाएको र त्यसैको दानाले कुखुरा  र  पोखरीको माछालाई आहारा हुने गरेको उनले बताए। १० कट्ठा जमिनमा रहेका  बङ्गुर, माछा र केराबाट उनले वार्षिक  ४ लाखको हाराहारीमा  आम्दानी गर्ने गरेको सुनाए।

बङ्गुरको  फोहोर  माछा पोखरी र केराको फेदमा जान्छ ', उनले आफ्नो बहुआयामिक व्यावासायिक चक्रबारे सुनाए – केराको पात माछाले खान्छ।  यी सबै एक  आपसमा मिल्ने भएकाले व्यवसाय सप्रेको उनले सुनाए। 'चारैतिरबाट उत्पादन बढदैछ  ', उनले थपे –  बङ्गुर , माछा , कुखुरा  र केराले मेरो उद्दार गर्‍यो।

टेलिभिजनबाट प्रशारित हुने कृषि कार्यक्रम हेरेर बङ्गुरपालनतर्फ आकर्षित भएका उनी आफ्नो कार्यलाई पत्नी शकुन्तलाले सघाउने गरको बताउँछन्। उनी विद्यालय पढाएर आएपछि  काममा लाग्छिन् ', उनल भने – हाम्रो मेहनतले आम्दानी बढ्दैछ।

ब्राह्मण समुदायको भएर पनि बङ्गुर पालेको भनेर सुरुमा केहीले कुरा काटे पनि अहिले समाजले राम्रो रुपमा हेर्न थालेको उनले बताए।  उनीहरुको सफलता देखेर यसै गाउँमा मात्र अन्य १० परिवारले बङ्गुर पालन सुरु गरेको निजगढका गुरु गौतमले सुनाए।

असफलतापछि सफलताको बाटो हिँड्दै गरेका लामिछाने दम्पती अहिले निक्कै खुसी देखिएका छन्। उनीहरुले आफ्ना दुई छोरीलाई निजी विद्यालयमा पढाउँदै छन्। नयाँ घर बनाएका छन्। जीवन शैलीमा परिवर्तन आएको छ। तर उनलाई पुन: पुरानो भयले सताउन भने छाडेको छैन। 'फेरि द्वन्द्वको डर बढ्दैछ', विगतबाट त्रसित उनले भने–  त्यसो नहोस् भनेर प्रार्थना गर्दैछौं।

No comments:

Post a Comment

Followers