Monday 17 May 2010

बेलायती सरकार असमावेशी भएकोमा आलोचना


image

लन्डन/ नवनिर्वाचित प्रधानमन्त्री डेभिड क्यामरुनको पुरानो प्रशासन कार्यकर्ता, प्रेस र आफ्नै नयाँ संयुक्त सरकारका साझेदारको आलोचनाको पात्र बन्न गएको छ । कन्जर्भेटिभ पार्टी बुढाखाडाको अखडा नभएको बताउने क्यामरुनको मन्त्रिमण्डलमा प्रायः सबै गोरा, पुरुष र उपल्ला वर्गलाई राखिएको छ, त्यसैले उनको आलोचना भएको हो ।
क्यामरुन तथा उनका उपप्रधानमन्त्री लिबरल डेमोक्रेटिकका निक क्लेग दुवै धनाढय परिवारमा हुर्केका र आभिजात्य स्कुलमा पढेका हुन् । २३ सदस्यीय संयुक्त मन्त्रिमण्डलमा बि्रटेनकी पहिलो मुसलमान महिला छन् । तर, तीनजना मात्र अरू महिलालाई समावेश गरिएको छ । तीमध्ये दुईले प्रभाव र शक्तिलाई देखाउने सरकारी विभाग सम्हालेका छन् । २३ मा २२ मन्त्री गोरा छन्, तिनमा पनि १६ त अक्सफोर्ड र क्याम्बि्रज विश्वविद्यालयबाट गएका हुन् ।
क्यामरुनले अल्पसंख्यकको बैरी र गरिबप्रति निरपेक्ष व्यवहार गर्ने सामन्तको सानो क्लबका रूपमा चिनिने कन्जर्भेटिभ पार्टीको छवि सुधार्न प्रयत्न गरिरहेका छन् । उनले धेरैजना अल्पसंख्यक उम्मेदवार उठाएर आफ्नो चुनावी अभियानमा एकतिहाइ वरिष्ठ सरकारी पद महिलालाई दिने वाचा गरेका थिए । वाम पक्षतिर ढल्केको लिबडेमको सहभागिताले पनि सरकारमा विविधता थपिने अपेक्षा गरिएको थियो, तर अब यसमा धक्का पुग्न गएको छ ।
डेलिमिरर नामक टेब्लोइडले भनेको छ, 'क्याबिनेटका काम चमकदार हिलवाला जुत्ता लगाउने ठिटाको जिम्मामा परेको छ ।' एकजना लैंगिक अधिकारवादीले टाइम पत्रिकामा छापिएको आफ्नो चिठ्ठीमा भनेकी छिन्, 'यो एक छलाङ पछि हुत्तिनु हो ।' रेडियो कार्यक्रममा शक्तिको उच्चासनमा आसीन खास डफ्फाबीच महिला र अल्पसंख्यक नदेखिएको गुनासा गरिन्छन् । सत्ताधारी दल लिबडेमका विधायक लिन फिदरस्टोनले वार्तामा बसेर कुरा मिलाउने दुवै पार्टीका 'मेल एन्ड पेल' अर्थात् पुरुष र पहेँलिएका मानिस छन् भनी व्यंग्य गरेका छन् ।
अन्य युरोपेली मुलुकमा उच्च तहमा निकै ठूलो मात्रामा लैंगिक समानता देखिन्छ । नर्वे र स्विडेनका मन्त्रिमण्डलमा आधाभन्दा बढी स्थानमा महिला मन्त्री छन् । जर्मनीको हालको १६ सदस्यीय मन्त्रिमण्डलमा ६ महिला छन् । अस्टि्रयाको १३ उच्चपदस्थ मन्त्रीमध्ये ६ महिला छन् । स्विट्जरल्यान्ड संसद्मा एकतिहाइभन्दा कम संख्यामा भए पनि सात सदस्यीय मन्त्रिमण्डलमा तीन महिला छन् ।  
पूर्वप्रधानमन्त्री  टोनी ब्लेयरको २००५ को मन्त्रिमण्डलमा ६ महिला थिए भने यसैहप्ता राजीनामा गरेका गोर्डन ब्राउनको टिममा पाँच महिला थिए ।
ब्लेयरको मन्त्रिमण्डलअन्तर्गत विदेश सचिव रहिसकेकी मार्गरेट बेकेटले क्यामरुनको आफ्नो प्रशासनमा महिलालाई बढी स्थान दिने भनाइ उनले गरेको निर्णयसँग मेल नखाएको टिप्पणी गरेकी छिन् । बि्रटेनको कुल जनसंख्याको ८ प्रतिशत अल्पसंख्यक जनजाति छन् र तिनमा भारतीयको संख्या निकै ठूलो छ । त्यसपछि, पाकिस्तानी छन् । पहिलो मुस्लिम महिला मन्त्री सइदा वार्सीलाई कुनै निर्धारित नीति क्षेत्र तोकिएको छैन । कन्जर्भेटिभ पार्टीबाट आएकी वरिष्ठतम महिला तथा गृहमन्त्री थेरेसा मेलाई समानतासम्बन्धी मामला पनि थमाइएको छ ।
विश्लेषकहरूले पार्टीको उपल्लो श्रेणीमा विविधता ल्याउन महिला उम्मेदवारी बढाउने प्रयासलाई प्रेसले क्यामरुनका 'पटरानीलाई भित्र्याउने'  चालका रूपमा लिएको बताउँछन् । उनीहरूमा पर्याप्त अनुभवको कमीले गर्दा प्रयास सफल नहुने बताइन्छ । सेफिल्ड विश्वविद्यालयका राजनीतिशास्त्रका प्रोफेसर कोलिन हे प्रधानमन्त्री क्यामरुन र उनका सहयोगी क्लेग दुवै आफ्नो टिममा धेरै महिला तान्न सकिन्थ्यो, तर अति थोरैै महिला मात्र छन् भन्ने कुरामा सचेत भएको बताउँछन् । उनका अनुसार पहिलेको राजनीति लैंगिक विभेदकारी रहेको हुनाले अझै पनि त्यो थोत्रो चलन नगएको हो ।

No comments:

Post a Comment

Followers